काठमाडौँ , ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र अर्थात वाकिङ स्ट्रिट बनाउनका लागि महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न तयारी गरिरहेको छ ।
नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम-दक्षिणका क्षेत्र समेटेर भेहिकल फ्री जोन घोषणा गरिएको छ । यस बाहेकका ठमेल क्षेत्रका सडकलाई पनि ‘वान-वे’ गर्न लागिएको छ ।
ठमेल विकास परिषदको अग्रसरता तथा महाशाखाको नेतृत्वमा ठमेलको मुख्य क्षेत्रलाई ‘भेहिकल फ्रि जोन’ बनाउन लागिएको हो । अब आइतबारदेखि सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारी साधनमात्रै प्रवेश पाउनेछन् ।
पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायतका अत्यावश्यक सवारी साधनलाई प्रवेशमा रोक नलगाइने ट्राफिक प्रहरीले जनाएको छ । अन्य सबै प्रकारका सवारीको प्रवेशमा रोक लाग्नेछ ।
यसबाहेक अन्य सवारी साधनलाई प्रवेश गर्न नदिइने ट्राफिक महाशाखाका बरिष्ठ प्रहरी उपरीक्षक उमेश रञ्जितकारले अनलाइनखबरलाई जानकारी दिए । ठमेल वाकिङ स्ट्रिटका रूपमा विकास गर्ने स्थानीयको योजनामा महाशाखाले सहयोग गरेको हो ।
कुन-कुन सडकमा जान पाइन्छ ?
अब ठमेलभित्र जाने सवारीले त्रिदेवी मार्गबाट प्रवेश पाउनेछन् । ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ । वान-वेहरुमा पनि विशेष कडाइ गरिनेछ । त्यसका लागि ट्राफिकले अहिले विभिन्न ठाउँमा ट्राफिक सिग्नल राखिरहेको रञ्जितकारले बताए ।
त्यहाँका पसल तथा होटलमा सामान ओसारपसार गर्ने सवारीलाई रातको १०बजेदेखि विहान ५ बजेसम्म चल्न दिइनेछ ।
ठमेलबाट बाहिरिने मोटरसाइकलले सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवतीबहाल,अमृत साइन्स क्याम्पसमार्ग र थहिँटीबाट दाहिने भएर जान पाउने छन् ।

No comments:
Post a Comment